Tuesday, October 26, 2010
मानवअधिकार चलचित्र महोत्सव
Human Rights Film festival concluded in Kathmandu
Human rights advocacy through films
Himalayan News Service
REPUBLICA
"दलन सबै समुदायको आवाज हो"
नेपाली टेलिश्रृङ्खलाको इतिहासमा एउटा अलग्गै पहिचान बनाउन सफल भएको छ 'दलन' । जागरण मिडिया सेन्टरको निर्माणमा नवीन सुब्बाको निर्देशन र आहुतिको लेखन छ- दलनमा । अनुप बराल, शुभबहादुर सुनाम, श्रवण मुकारुङजस्ता श्रष्टाको सहभागितामा यो पूरा भएको छ । अहिले बेलायतस्थित 'वन वल्र्ड मिडिया विशेष अवार्ड' को सर्टलिस्टमा परेको छ । यही टेलिश्रृङ्खलाका निर्माता तथा जागरण मिडिया सेन्टरका उपाध्यक्ष पूर्णसिंह बराइली केही साताअघि बेलायत आउँदा गरिएको कुराकानीः
दलनकै कारण अवार्डका लागि बेलायतसम्म आइपुग्नुभएको छ, कस्तो अनुभुति भएको छ ?
निश्चय पनि मलाईमात्र होइन, नेपालकै लागि पनि गौरवको कुरा हो । सयौँ कार्यक्रम र सङ्घसस्थाबाट छानिएर सर्टलिस्टमा दलन पर्नु हामी सबैको लागि खुशीको कुरा हो । सर्टलिस्टमा परेका परियोजनाहरुको ठूलो पोष्टर बनाएर प्रदर्शनी पनि गरिएको थियो । त्यो प्रदर्शनीबाट धेरै मानिसहरुले नेपालमा बनेको टेलिश्रृङ्खलाको विषयमा जान्ने अवसर पाए । दलन ससेक्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग माझ पनि प्रदर्शन गरियो । उनीहरुले दलनको 'प्रोडक्सन भ्यालु' को राम्रो प्रसंशा गरे । यसरी नेपालदेखि बेलायतसम्म आइपुग्दा खुशी र गौरवको अनुभूतिका साथै जिम्मेवारी पनि थपिएजस्तो लागेको छ ।खास के छ दलनमा ?
हामीले कुनै त्यस्तो असाधारण काम गरेका छौँ भन्दैनौँ तर समाजका लागि अति नै आवश्यक र सरकारले करोडौँ खर्च गरेर पनि परविर्तन गर्न नसकेको कुसंस्कारहरुलाई हटाउन सचेतना दिन यस श्रृङ्खलाबाट सकिन्छ भन्नेमा हामी विश्वस्त थियौँ । जतिखेर हामी दलनको सुरुवात गर्दै थियौँ, त्यतिखेर एउटा नेपाली टेलिश्रृङ्खला, जुन दलितसम्बन्धी बनेको थियो, त्यो दर्शकबाट बहिष्कृत हुनु परेको थियो । यस्तो बहिष्करणबाट कसरी बच्ने र दर्शकको मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने भन्ने गहिरो चिन्तन गरेका थियौँ । अर्कोतिर नेपालका अधिकांश दर्शकमा कसौटी जिन्दगी की र कुम-कुम जस्ता भारतीय श्रृङ्खलाको छाप गहिरो थियो । त्यसमा पनि हाम्रो विषय अलि जटिल थियो । नेपाली समाजको इतिहास, नेपालका पछाडि पारएिकाहरुको जीवन । यसलाई चलचित्रमा उतार्दा कति रुचाइन्छ, त्यो ज्यादै चुनौती थियो । फेरि हामीले नाम चलेका कलाकारहरु पनि राखेका थिएनौँ । त्यसैले सबै कुरा दिमागमा राखेर काम गरेका थियौँ । हाम्रो काम गराइको तरिकाबाट सफलता पाउनेमा हामी बढी आशावादी थियौँ नै तर यससँगै दर्शकले दलन आउनासाथ टेलिभिजन बन्द गरिहाल्छन् कि भन्ने डरबाट पनि मुक्त थिएनौँ ।
तर, यसको सफलताको पछाडि यथार्थताको प्रतिबिम्बन नै मुख्य सफलता हो जस्तो लाग्छ ।
दलनको निर्माणचाहिँ कसरी भयो र दलन बनाउने योजना नै किन आयो ?
हामीले जागरण मिडिया सेन्टर स्थापना गरेको तीन चार वर्ष हुँदै थियो । मिडियाका माध्यमबाट उत्पीडित दलित समुदायको आवाज उठाउने काममा सक्रिय थियौँ । त्यसो हुँदा वृत्तचित्र वा कथानक चलचित्र बनाउने कि भन्ने पनि योजना थियो तर यसले मात्र दलितहरुको सवालमा न्याय हुन सक्दैन भन्ने लाग्यो र लामै टेलिश्रृङ्खला निर्माण गरौँ भन्ने निष्कर्ष निकाल्यौँ । बनाउन न त बनाउने तर कसरी ? प्रश्न जटिल थियो । नेपालका चलचित्र निर्माणमा हामी खासै सहमत हुन सकेनौँ र लेखक आहुतिलाई लेखाउने निधो भयो । आहुतिको लेखनमा निर्देशन गर्नसक्ने क्षमता भएको मान्छे चाहियो । नुमाफुङमा नवीन सुब्बाको क्षमता देखिएको थियो । त्यो भएर हामीले कुरा राख्यौँ- उहाँ पनि राजी हुनुभयो । यसरी राम्रो समूह जुट्दै गयो । यसपछि कलाकार छनोटका लागि रञ्गमञ्चमा ख्याती कमाएका अनुप बराल आउनुभयो र काम अगाडि बढ्यो ।
सुरुमा मानवशास्त्री, समाजशास्त्री, चलचित्रकर्मी, पत्रकार, साहित्यकार सबैसँग तीनदिन समूहगत छलफल गर्यौँ । अहिलेसम्म सामाजिक विषयमा बनेका चलचित्रकरुको विषयगत विश्लेषण पनि गर्यौँ । नेपालका पाँच विकास क्षेत्रमा दर्शकहरुको धारणा पनि बटुल्यौँ । यी सबैले लेखनमा थप बल पुग्यो । छलफलबाट पनि र हाम्रो पनि सहमति के आयो भने नाम चलेका कलाकारहरुको ब्राण्ड बनेको हुन्छ । त्यसैले हाम्रो कलाकारहरु दलनकै नामबाट चिनिऊन् । यस हिसाबले हामीले अडिसन, अभिनय कार्यशालाबाट कलाकारहरु छनोट गर्यौँ । काठमाडौँ, पोखरा कुश्मामा कार्यशाला गरी दलनमा भएका तीनसय कलाकार छनोट गर्यौँ ।
दलनको यात्रा कहाँसम्म पुग्यो र यसको गन्तव्य के हो ?
गतसाल असार १ गतेबाट दलन नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । यो असारको पहिलो हप्ता ५२ औँ श्रृङ्खला सकियो । नेपालमा लोडसेडिङले हेर्न पाइएन भन्ने गुनासो मध्यनजर गर्दै छिटोभन्दा छिटो पुनः प्रसारण गर्दैछौँ । गाउँ-गाउँमा पनि प्रदर्शन हुन्छ, जहाँ टेलिभिजनको पहुँच छैन । यसपछि अन्तर्राष्ट्रिय दर्शकहरुको पनि माग छ त्यसैले सब-टाइटल गरेर अन्तर्राष्ट्रिय टिभी च्यानलबाट प्रसारण गर्ने प्रयास पनि गरिनेछ । नेपालमा पनि विश्वविद्यालय र फिल्म स्कुलहरुले अध्ययनको माध्यम बनाउन थालेका छन् । विदेशका पनि सामाजिक तथा सामाजशास्त्रीय र इतिहास अध्ययन गरिने विश्वविद्यालयहरुमा अभियान लगिनेछ । धेरैले डिभिडीको अनुरोध गरेका छन्, यसको पनि तयारी हुँदैछ ।दलनले नेपाली समाजमा, विशेषगरी दलितहरुमा कस्तो प्रभाव पार्यो ?
समग्रमा सात सालदेखि ५२ सालसम्मको नेपाली समाजको दृष्य दस्तावेज हो दलन । यो दलितहरुको मात्रै होइन, नेपालका अन्य जाति तथा समुदायको पनि आवाज बोकेको चलचित्र हो । टेलिश्रृङ्खलाले समेटेको अवधिभित्र नेपालको राजनीतिक विकासक्रमका मुख्य घटना र त्यो राजनीतिक घटनाक्रमले जनजीवनमा आएको परविर्तनको चित्रण छ । नेपाली ग्रामीण तथा शहरी जीवनका अन्तर्सङ्घर्षका कथाहरु छन् । मान्छले प्रयोग गर्ने सामग्रीदेखि कपडाको लामो इतिहास यसमा छ । सबैका सबै कला, सँस्कृति ढल्कने दृश्यहरु यसमा छन् । हरेक कोणबाट यसमा अध्ययन गर्ने विषय छन् । त्यसैले हामी भन्छौँ- यो त एउटा विश्वविद्यालय नै हो ।
यसर्थ नेपालमा पहिलोपल्ट यस्तो काम भएको छ भन्नलाई हामी सङ्कोच मान्दैनौँ । नेपाली समाजमा यसले ठूलै काम गरेको छ । नेपालका मात्र नभएर विदेशमा समेत दर्शकहरुमा नयाँ जागरण पैदा भएको छ । दर्शकहरुमा चलचित्र हेर्ने नयाँखालको चेतना जगाइदिएको छ । कला, साहित्यमा गम्भीर काम हुन सकेको थिएन र यसलाई दलनले थालनी गरेको छ । समाज परविर्तनका लागि दलनजस्ता टेलिश्रृङ्खलाहरु पनि हुनसक्छन् भन्ने कुरा स्थापित भएको छ । जस्तोः नेपालका ५३ वटा जिल्लामा दलन फिल्म क्लबहरु गठन भएका छन् । नेपालबाहिर दुबई, भारतको सिक्किम दार्जिलिङ, अमेरिकाजस्ता ठाउँमा क्लबहरु छन् । यी क्लबहरु दलनबाट प्रभावित भएर बनेका हुन् । यिनले स्वतस्फूर्त ढङ्गले सामाजिक कामहरु गररिहेका छन् ।त्यसैले दलनले समाज परपिर्तनका पक्षमा उभिन सिकाएको छ । विभिन्न भङ्गालोहरुमा विभाजित दलित आन्दोलनलाई एकताका लागि झकझकाएको छ । आफ्नो पहिचानसहित मुक्तिका लागि सङ्घर्ष गर्न सिकाएको छ । अन्य जातिलाई हामीमात्र मान्छे हौँ भन्ने सोचमा धक्का दिएको छ । नेपालको चलचित्र निर्माणको क्षेत्रमा पनि यसले एउटा छुटै पहिचान कायम गरेको छ ।
यो दलन फिल्म क्लवको खास भिजन के छ ?
दलनको तेस्रो भाग प्रसारण भएपछि गोर्खामा दलन क्लब बनेको पत्र प्राप्त भयो । यसलाई हामीले पहिलो क्लबको रुपमा प्रसारण गर्यौँ । यसको पछिल्लो हप्ताबाट अमेरिकाको कर्नेल विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले गठन गरेको पत्र प्राप्त भयो । यसपछि दलन फिल्म क्लबको जनलहर ह्वात्तै बढ्यो । र, अहिले ४०० को सङ्ख्यामा दलन क्लबहरु छन् । टेलिश्रृङ्खलाहरुको इतिहासमा यो पहिलो हो ।हामीलाई क्लबको पहिलो पत्र आएपछि प्रसारण गर्ने कि नगर्ने भन्ने द्विविधा थियो । दर्शक सङ्गठित हुने राम्रो अवसर हुने भएकोले हामीले नमूनाको निम्ति प्रसारण
गर्यौँ । पछि यसले यत्रो सङ्ख्यामा क्लब जन्मायो । मूलतः यी फ्यान क्लबहरु हुन् तर पनि फिल्म क्लबभन्दा राम्रो हुने भएर हामीले यसो भनेका हौँ । यो कम्तिमा ७ जना कार्य समिति रहेर गठन हन्छ । त्यसभन्दा माथि सदस्यहरु आवश्यकतानुसार हुन्छन् । समग्रमा दलनबाट प्रभावित भएर बनेका फिल्म समाजहरु हुन् यी ।
यसको उद्देश्य समाज रुपान्तरणमा केही न केही भूमिका खेल्नु भन्ने हो । यसको सुरुवात थुप्रै क्लहरुले गरेका छन् । पोखराका जनजागरण दलन फिल्म क्लबले स्थानीय कलाकारहरुको सम्मानका साथै दलनकै च्यारेटी शोबाट १ लाख रुपैयाँ उठाएको छ । यो कोषबाट काम अगाडि बढ्दैछ । यसरी कोष उठ्नुभन्दा पनि मान्छेहरु सङ्गठित हुनु महत्वपूर्ण कुरा हो । त्यस्तै सचेतना दलन फिल्म क्लबले मानवअधिकार चलचित्र प्रदर्शनका साथै पीडितहरुका लागि कानुनी सहायता प्रदान गर्दै आएको छ । यस्ता थुपै्र उदाहरणहरु छन् । केही समयमा हामी दलन फिल्म क्लबहरुका क्षेत्रीय भेला पनि गर्दैछौँ । यसबाट क्लबहरुले के गर्ने भन्ने स्पष्ट मार्गचित्र तयार हुनेछ र क्लबहरु समाजमा अगाडि बढ्नेछन् ।
प्रवासी नेपालीमाझ प्रदर्शनको कस्तो योजना छ ?
बेलायत बसाइका क्रममा निकै राम्रो प्रतिक्रिया मिलेको छ । अरु देशमा पनि दलन हेर्न पाउनुपर्यो भन्ने माग छ । त्यसैले दशैँदेखि दलनको युरोप यात्रा थालनी गर्ने योजना बनेको छ । युरोपका केही देशका साथै अमेरिका र जापानका नेपालीहरुका लागि पनि दलन यात्रा अगाडि जानेछ ।दलन निर्माणका क्रममा अविष्मरणीय क्षणहरु केही छन् ?
पाँच वर्षदेखि निर्माणको थालनी भएको थियो । यो क्रममा हामीले थुप्रै राजनीतिक घटना देखेका र भोगेका छौँ । अत्यन्त कठोर सङ्कटकालका बीचमा छायाँकन गरियाे । कुनै पनि बेला माओवादी र सेनाबीच पर्न सकिने भल्खाडोहरु पार गर्यौँ । पर्वतको खौला दुर्लुङजस्ता बिजुली नभएका स्थान र सुटिङमा खाने सामग्री पनि चार पाँच घण्टाको कच्चीबाटोबाट ल्याउनुपथ्र्यो । दुईदिन लगाएर घान्द्रुकबाट घोडा ल्याइएको थियो । सङ्कटकालदेखि सङ्घीय गणतन्त्र नेपालसम्मका दिनहरुमा दलन निर्माण सकिएको थियो । त्यसकारण प्रत्येक क्षणहरु सम्झनलायक छन् । एउटा अविष्मरणीय क्षण छ, जुन प्रसार भएपछिको हो । अफगानिस्तानमा तीन जना नेपाली सेकुरिटी गार्डमा काम गर्दा रहेछन् । उनीहरु दलनबाट साह्रै प्रभावित भएका रहेछन् । त्यति टाढाबाट हाम्रो कार्यालय काठमाडौँमै आएर चार हजार रुपैयाँ दिए उनीहरुले । पैसाभन्दा पनि माया बढी दिए । यो नै अविष्मरणीय क्षण थियो । यसरी आएका पैसालाई हामीले दलन चलचित्र कोष नामाकरण गरेर जम्मा गर्ने गरेका छौँ । यो कोषमा अहिले धेरै रकम जम्मा भएको छ । यो कोष 'दलन' जस्तै चलचित्र निर्माण र प्रबर्द्धनमा लगानी गरिनेछ ।